सबै साथीहरूको समन्वयमा अघि बढ्छुः शेष घले, अध्यक्ष, एनआरएनए

Published on: Wed, Oct 30th, 2013 By

धेरैको आशा र सपनाका केन्द्रविन्दु शेष घले एनआरएनएको अध्यक्षमा निर्वाचित भएपछि उहाँसँग गरिएको कुराकानी ।

 अध्यक्षमा निर्वाचित हुनुभो, तपार्इंका योजना के छन् ?

सर्वप्रथम त मैले काम गर्ने अवसर पाएको छु । त्यसप्रति सम्पूर्ण एनआरएनलाई आभार व्यक्त गर्न चाहन्छु । अर्को कुरा निर्वाचनको प्रक्रियाभन्दा पनि मेरो एजेन्डा हिजोदेखि नै जे थियो भोलिका दिनमा पनि हुने त्यही नै हो । मैले अध्यक्षको उम्मेदवारी घोषणासँगै सानो घोषणापत्रसमेत तयार पारेको थिएँ । अब भोलिका दिनमा घोषणापत्रमा उल्लेख भएका तिनै प्रतिबद्धतालाई मध्यकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्छु । हाम्रो सङ्गठन भएको तर म नपुगेको सबै देशमा यो वर्षभित्रै पुग्ने प्रयास गर्नेछु । त्यहाँका साथीहरुको सल्लाहमा अबको दुई वर्षमा के गर्न सक्छौंँ, पाँच वर्ष वा १० वर्षमा के गर्न सकिन्छ भनेर दूरगामी योजना बनाएर अघि बढ्छु । हाम्रो कार्यकालपछि फेरि नयाँ टिमले नयाँ योजना बनाउनु नपरोस् भन्ने सोचमा छु । अहिलेकै योजनामा लामो समयसम्म हिँड्न र काम गर्न पाइयोस् भन्ने मेरो भित्री इच्छा हो । खुसीको कुरा, हामीले एक दशकपछि विधिवत् रुपमा संस्था पनि दर्ता गरेका छौँ । यसले हामीलाई उत्साह थपेको छ । मैले मेरो एजेन्डामा पनि राखेको थिएँ कि निर्वाचित भएको छ महिनाभित्रमा संस्था दर्ता गर्नेछु भनेर तर, निर्वाचनसँगै संस्था पनि दर्ता भएकाले यो चाहिँ मेरो लागि बोनस भयो । एनआरएनएको नेपालमा आफ्नै कार्यालय भवन बनाउने काम गर्नेछु  र सबैको लागि हुनेगरी केही न केही सामाजिक कामसमेत गर्नेछु ।

shesh_ghaleएक दशकको सहमति परिपाटीको अन्त्य गर्दै निर्वाचनको माध्यमबाट अध्यक्षमा निर्वाचित हुनु भएको छ, चुनौती त होला नि ?

मैले आफ्नो घोषणापत्रमा समेत एकता र समावेशिताको कुरा गरेको थिएँ । हामी पाँच जनाका बीचमा प्रतिस्पर्धा भएको थियो । पटक पटकको छलफल र वार्तापछि तीनजना साथीहरुले मलाई समर्थन गर्दै पछि हट्नुभयो । उहाँहरुको कुरालाई कदर गर्दै मैले उहाँहरुलाई कुनै ठाउँमा समावेश गर्नुपर्छ । अर्को कुरा, मसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने दक्षिण कोरियाका साथी तेन्जी शेर्पा हुनुहुन्थ्यो र मैले उहाँलाई तत्कालै भनँ,े यो जित मेरो मात्र हैन तपाईंको पनि हो  र सम्पूर्ण एनआरएनको हो । एउटा ठूलो सञ्जाल भएको संस्थाको अध्यक्षमा निर्वाचित भएपछि स्वाभाविक रुपमा चुनौती तेर्सिन्छन् । मैले आफूलाई जिम्मेवार ढङ्गबाट हेरेको छु । मेरो मुख्य प्रयत्न भनेको सबै साथीहरुलाई समेटेर अघि बढ्ने हो  । मेरो एकता ‘सेन्टर फोकस’मा हुनेछ ।

एनआरएहरु हरेक दुई वर्षमा सम्मेलन गर्छन् त्यो बेलामा नेपाल आएर सपना देखाउँछन् तर काम गर्दैनन् भन्ने आरोप छ नि ? 

यो गलत नियतले लगाइएको आरोप हो । साँच्चै केही काम भैरहेका छन् ।  दश वर्षको अवधिमा एनआरएनएले रु तीस अर्बभन्दा बढीको लगानी गरेको छ । हाम्रो नेपाली समुदाय विदेशमा भर्खरै बामे सर्दैछ । अर्थात् हामीहरु आफ्नो निर्वाह गर्ने प्रक्रिया छौंँ । अहिले केही साथीहरु अलि सक्षम पनि हुनुभएको छ र  भविष्य चाहिँ हाम्रो उज्ज्वल छ । त्यो हामीले देख्न सक्नुपर्छ तर यो दश वर्षको अवधिमा हामीसँग त्यति ठूलो आािर्थक स्रोत भएको म देख्दिन । तथापि बौद्धिक रुपमा सीप र ज्ञान त हामीसँग धेरै छ । त्यो ल्याउन हामीले सक्नुपर्छ र पहल गर्नुपर्छ । अहिले हामीले गर्न सकिरहेका छौंँ जस्तो मलाई लाग्दैन । त्यस कारण अझै पनि एनआरएनको सञ्जाल भन्दा बाहिर रहेका र  पढेलेखेका व्यावसायिक साथीहरुलाई  संस्थामा बढी सहभागी गराउन सक्नुपर्छ जस्तो लाग्छ ।  हामीले विदेशमा सिकेका ज्ञान र सीप नेपालमा प्रयोग गर्नुपर्छ ।

 खाडी क्षेत्रमा रहेका नेपाली कामदारका लागि कोष बनाउने कुरा गर्नुभएको थियो, अब के गर्नुृहुन्छ ? 

हो, मैले आफ्नो घोषणापत्रमा पनि यो विषयलाई समेटेको थिएँ । कोष कसरी निर्माण गर्ने भनेर हाम्रो कार्यसमितिमा पनि छलफल र बहस गर्छौँ । कोषको दिगोपन तथा कति सङ्कलन गर्न सक्छौंँ, कुन स्रोतबाट ल्याउने हो सबै कुराहरुको पहिचान गर्छु । मैले आफ्नो योजना राखिसकेको छु ।  त्यसको सुरुआत निकट भविष्यमै हुनेछ । हुनसक्छ यो हप्ताभित्रै हामीबाट यो काम चाँडै सुरु हुन्छ ।

ठूला परियोजनामा लगानी भित्र्याउन कस्तो भूमिका निर्वाह गर्नुहुन्छ ?

नेपालमा लगानी आकर्षित गर्न कानुन नै बाधक छ । यो मेरो पाँच छ वर्षको अनुभव हो । त्यसकारण लगानी आकर्षित गर्ने सरकारको पुरानो कानुन संशोधन हुनुपर्छ । ‘फरेन टेक्नोलोजी ट्रान्सफर एक्ट १९९२’ का आधारमा हामीले कसरी लगानी भित्र्याउन सक्छौँ र ? नेपालमा ठूला ठूला परियोजना सुरु गर्न र लगानी भित्र्याउन यो कानुन पुरानो भो । अब नयाँ कानुन बन्नुपर्छ । हुन त कानुनमै मात्र आधारित पनि छैन, एउटा अधिकृत, हाकिम अथवा एउटा मन्त्रीको स्वविवेकमा चलिरहेको छ । कानुन एकातिर छ हाम्रो काम अर्कातिर चलिरहेको छ । हाम्रो समस्या त्यही हो । हामीसँग ‘ब्ल्याक एन्ड ह्वाइट’ कानुन छैन । अहिले पनि नयाँ कानुन ड्राफ्टमा छ भनिएको छ । पहिलो नम्बरमा सरकारको स्पष्ट कानुन हुनुपर्छ । अर्को समस्या भनेको कर्मचारीतन्त्रको व्यवहार र कार्यान्वयनमा भरपर्छ । जब मैले ७०÷८० मिलियन डलरको लगानी गर्न खोजेर आउँदैछु भने मैले त्यो लगानी गर्ने वातावरण पाउँदिन । कर्मचारीतन्त्रको सहज सहयोग हुँदैन । मेले त्यही भोगिरहेको छु । त्यसैले वैदेशिक लगानी ल्याउने समय अहिले भैसकेको छैन । पहिले हामीले लगानी सुरु गर्नुपर्छ । हामी सफल भैसकेपछि विदेशीलाई हामीले आकर्षित गर्न सक्छाँैं  तर मलाई लाग्छ विदेशीलाई आउनका लागि संयुक्त लगानी उत्तम हुन्छ । फेरि यहाँको कर्मचारीतन्त्रसँग विदेशीले ‘डिल’ गर्ने वातावरण छैन । त्यसैले ‘लोकल पार्टनर’ चाहिन्छ । उसले विदेशीलाई ‘ट्रस्ट’ दिनसक्नुपर्छ । पार्टनर भएपछि उहाँहरुलाई आकर्षित गर्न सकिन्छ ।  प्रस्तुतीः पवित्रा मुडभरी ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us