निर्वाचनमा सबैको सहभागिता जरूरीःडा. प्रकाशचन्द्र लोहनी

Published on: Tue, Nov 12th, 2013 By

डा.प्रकाशचन्द्र लोहनी अर्थशास्त्री र राजनीतिज्ञ हुनुहुन्छ । पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय डा. लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता हुनुहुन्छ । उहा“ले विभिन्न समयमा भिन्न भिन्न मन्त्रालयमा मन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको छ । संविधानसभा निर्वाचन २०७० का लागि पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत नुवाकोट क्षेत्र नं. १ बाट राप्रपाको तर्फबाट उम्मेदवार हुनुहुन्छ । उहास“ग चुनावी अभियानका विषयमा ककनी पोष्टका लागि माधवप्रसाद तिवारीले गर्नुभएको कुराकानी ः
Prakash Chndra Lohaniनुवाकोटमा निर्वाचनको वातावरण कस्तो छ ?
निर्वाचनका लागि माहोल तातेर गएको छ । सबै दलका उम्मेदवार आआफ्नो तरिकाबाट सक्रिय रुपमा जनतामाझ गइरहेका छन् ।
निर्वाचनका लागि तपाईंको तयारी कस्तो छ ?
राम्रो छ । हाम्रो कार्यकर्ता सक्रिय भएर लागेका छन् । मदानपुर गाविसबाट दुई सयभन्दा बढी युवाले “डा लोहनी तिमी अघि बढ युवा तिम्रो साथ छ” भनेर प्रचारप्रसार अभियान नै सुरु गरेका छन् । त्यसकारण हाम्रो तयारी राम्रो छ । कार्यकर्ता सक्रिय भएर लागेका छन् । हामीले जित्ने निश्चित छ ।
उम्मेदवार भएपछि कुन कुन ठाउ“मा पुग्नुभयो ?
क्षेत्र नं १ का सबै गाविसमा पुगिसकेँ । कतिपय गाविसमा दोहोर्याएर समेत गैसकेँ । कतिपय गाउँ गाउँमा पुगिरहेको छु । म अहिले दिनको पाँच छ घन्टा हिँडिहेको छु । घर घरमा जनताको आशीर्वाद र विश्वास लिन पुगिरहेको छु ।
जनताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
जनताको प्रतिक्रिया राम्रो छ । “तपाईंले पहिला पनि गर्नुभएको हो । बीचमा जनयुद्धलगायतको कारणले हाम्रो सम्पर्क टुट्यो, तपाईं आउनुभो, संविधान निर्माणको काममा तपाईंले योगदान गर्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास छ, त्यसकारण तपार्इंलाई हामी सहयोग गछौँ” भन्ने जनताको प्रतिक्रिया छ ।
तपाईंको प्रतिस्पर्धा कोस“ग हो ?
प्रतिस्पर्धा योसँग भन्ने नै छैन । मेरो उद्देश्य भनेको चुनाव जित्नु हो र म त्यसैगरी लागेको छु । दोस्रो र तेस्रो को हुन्छ भन्ने मेरो चासोको विषय होइन । म चुनाव जित्नकै लागि उठेको हुँ ।
पार्टीगत हिसाबमा यहा“को पार्टी अघिल्लो निर्वाचनमा धेरै मतान्तरले पछि थियो । यस पटक पनि त त्यस्तै नहोला भन्न सकिन्छ ?
त्यो बिलकुलै हुँदैन । एक त पाँच वर्षअगाडिको जुन स्थिति थियो हुरी र बतासको, अहिले त्यस्तो स्थिति छैन । हाम्रो पार्टी एक भएको छ । जनताले पनि हामीलाई एक भएको हेर्न चाहन्थे । नेपाली राष्ट्रिय स्वाधीनता र राष्ट्रिय इज्जत र सम्मानको संरक्षणका लागि जनताले राप्रपा नै छान्छन् ।
विसं २०५६ को संसदीय निर्वाचनमा नेकपा (एमाले) एक मतले अघि भयो । फेरि यस पटक एमालेले नया“ उम्मेदवार खडा गरेको छ, तपाईंका लागि चुनौती त छ नि ?
चुनौती सबै जना उम्मेदवार आआफ्नो तरिकाले आउनुभएको छ तर मलाई के विश्वास छ भने म जित्छु ।
अन्य दलस“ग तालमेल हुन्छ कि ?
खास तालमेलको केही कुरा छैन । हामी आफ्नो तरिकाले अघि बढिरहेका छौँ ।
निर्वाचनको विपक्षमा रहेको नेकपा–माओवादीको भोट तान्ने कसरत गरिराख्नु भएको छ रे नि त ?
संविधान निर्माणका लागि संविधानसभामा सबै शक्ति हुनुपर्छ । मोहन वैद्यको नेतृत्वमा रहेको माओवादी नेपाली राजनीतिको एउटा बलियो शक्ति हो, किनिक विगतको संविधानसभामा त्यो कुरा देखिसकिएको छ । दुई सय ३८ जनामा ९० भन्दा बढीले वैद्य माओवादीको पक्षमा हस्ताक्षर नै गरेका थिए । त्यसकारण उहाँहरु जस्तो शक्तिशाली शक्तिलाई बाहिर राखेर संविधान निर्माण गर्नु भुल हुन्छ । संविधान बन्यो नै भने पनि त्यो लागू हुने सम्भावना कम हुन्छ । त्यसकारण उहाँहरुलाई ल्याउनुपर्छ भनेर म मात्र हैन हाम्रो पार्टीले सुरुदेखि भन्दै आइरहेको छ । उनीहरुलाई जसरी हुन्छ पन्छाएर जाने मनस्थिति तीन वटा दलमा देखिएको छ, म त्यसको विपक्षमा छु, किनकि त्यसले देशमा शान्ति ल्याउँदैन भन्नेमा म विश्वस्त छु ।
तपाईंलाई नेकपा–माओवादीका कार्यकर्ताले भोट दिए भने आश्चर्य नमाने हुन्छ ?
के गर्नुहुन्छ त्यो त उहाँहरुको निर्णयको कुरा हो । एउटा सैद्धान्तिक रुपमा राष्ट्रिय परिवेशमा मैले ती कुरा भनेको हुँ र त्यसमा म अहिले पनि अडिग छु ।
तपाईंले निर्वाचनमा जित्नैपर्ने कारण के हो ?
नेपालको संविधान निर्माणमा म योगदान गर्न सक्छु र चाहन्छु । मातृभूमिका लागि मैले अहिले योगदान गर्नुपर्ने समय आएको छ । संविधानको राजमार्ग नबनीकन देशमा आर्थिक समाजिक काममा प्रगति हुन सक्दैन । त्यो प्रगति गराउने काममा अहिलेसम्मको मेरो जिन्दगीको अनुभव र राजनीतिक अनुभवबाट मैले धेरे योगदान गर्न सक्छु भन्ने लागेकाले मलाई नुवाकोट क्षेत्र नं १ का जनताले एक पटक मौका दिनुहुन्छ भन्ने लागेकोले छ ।
डा लोहनी निर्वाचनको मुखमा मात्र जनतामाझ देखिन्छन् भन्ने गुनासो छ नि ?
यो गलत हो । गाउँमा म १० वर्षसम्म जाने कुरै भएन । तत्कालीन माओवादीको लडाइँमा म पनि उनीहरुको सफाया गर्ने सूचीमा परेको थिएँ । त्यस कारण गाउँ जान सक्ने अवस्था रहेन । यतिसम्म कि २०६१ सालमा म अर्थमन्त्री हुँदा तादी पुलको शिलान्यास गर्दा हेलिकप्टरबाट जानुप¥यो । त्यसकारण लडाइँले गर्दा केही सम्पर्क हुन नसकेको हो । म जनताको मनमा सधैँ हुनेछु र रहनेछु । अब त झन् अन्तिम समयसम्म नुवाकोटका जनताका लागि समर्पित भएर लाग्ने छु ।
निर्वाचनमा तपाईंको कार्यसूची के हो ?
नुवाकोटका जनतामा हाम्रो पार्टीको योजना पनि छ, नेपाली जनतालाई रोजगारी, सुरक्षा र संविधान । नेपाली जनतालाई सबैभन्दा बढी चाहिने भनेको रोजगरी हो किनकि युवाहरु धेरै विदेश पलायन हुने स्थिति आएको छ । सुरक्षाका लागि यहाँ कानुन सबैको लागि लागू हुन्छ भनेर प्रत्याभूति दिनुपरेको छ ।
अहिले ठूलाका लागि चैन र सानाका लागि ऐन भएको छ । र संविधान भनेको एउटा बाटो हो । मोटर गुडाउनका लागि त्यो बाटो नबनी सुखै छैन । त्यसकारण त्यो बाटो कस्तो राम्रो बनाउनुहुन्छ, त्यसले नै विकासको गति निर्धारण गर्छ । त्यसैले संविधान निर्माणको काममा म संलग्न हुन चाहन्छु ।
जनताले तपार्इंलाई विजयी गराए भने नुवाकोट क्षेत्र नं १ का लागि के गर्नुहुन्छ ?
मैले २०६१ सालमा रातमाटे, जिलिङ र देवीघाटलाई निर्यात गर्ने वस्तुहरुका लगि औद्योगिक क्षेत्र बनाउनुपर्छ भने विशेष आर्थिक क्षेत्रको प्रस्ताव अघि बढाएको थिएँ तर अहिलेसम्मका कुनै पनि सरकारले त्यसलाई लागू गरेन । म चाहिँ नुवाकोटलाई औद्योगिक क्षेत्रका रुपमा विकास गराउन चाहन्छु, किनभने त्यहाँ बिजुली छ, बाटो छ, पानी छ र बजार पनि छ । अर्को कुरा, नुवाकोट काठमाडौँ जोडिने सडकहरुलाई द्रुतमार्ग निर्माण गरेर नुवाकोटको सुनखानीदेखि थानसिङको क्षेत्रलाई काठमाडौँको अङ्गका रुपमा सहरीकरण गर्ने प्रक्रियामा लैजान सक्छौँ हामीले । तेस्रो, नुवाकोटलाई गल्छीबाट स्याफ्रुबेंसी, टिमुरे जोड्ने बाटोको सम्झौता एसियाली विकास बैंकसँग मैले गरेको हो । यो काम पूरा भएपछि नुवाकोट चीन र भारतसँग व्यापार गर्ने एउटा प्रमुख केन्द्र बनाउन सकिन्छ र त्यसो गर्ने मेरो कल्पना छ ।
निर्वाचनका सन्दर्भमा निर्वाचनको विपक्षमा रहेका दल र तिनका कार्यकर्तालाई के भन्न चाहनुहुन्छ ?
उहाँहरुले राष्ट्रिय स्वाधीनताका पक्षमा पनि कुरा उठाउनु भएको छ, म त्यसलाई समर्थन गर्दछु । त्यो यथार्थ कुरा हो । नेपालको राष्ट्रियता धेरै कमजोर भएर गएको छ । राष्ट्रिय स्वाधीनताका लागि वकालत गर्ने शक्तिको आज आवश्यकता छ तर चुनावका लागि अहिले चलेको जुन प्रक्रिया छ , त्यसलाई नै हामीले रोक्यौँ भने हामी पछि पछौँ । चुनाव भैसकेपछि पनि उहाँहरुलाई कसरी समाहित गर्ने भन्ने विषयमा सबै पक्ष बसेर निर्णय गर्नुुपर्छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us