निर्वाचन अतिवादविरुद्ध ऐतिहासिकः केदार खड्का, उपाध्यक्ष, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)

Published on: Sun, Dec 1st, 2013 By

संविधानसभा निर्वाचन २०७० नियोकको पर्यवेक्षणका कस्तो रह्यो ?
–संविधासभा निर्वाचनमा नियोकले विगतका निर्वाचन क्षेत्रमा जस्तै दुई सय ४० वटै निर्वाचन क्षेत्रमा आफ्ना पर्यवेक्षक परिचालन गरेको थियो । सबै पर्यवेक्षकलाई प्रशिक्षित गरी खटाइएको थियो । हामीले निर्वाचनको दिनमा मात्रै नभई निर्वाचनपूर्व र पछि मत गणनासम्मको अवस्थाको पर्यवेक्षण गरेका थियौँ । हामीले २०६४ सालमा भएको निर्वाचनमा भन्दा यस पटक निकै परिवर्तन र परिपक्वता अपनाइएको पायौँ । नेपाल सरकार, पर्यवेक्षण संस्था र सञ्चारमाध्यम सबैमा परिपक्वता आएको पाइयो । निर्वाचन आयोगले पनि आफैँमा क्षमता अभिवृद्धि गरेको पाइयो, सेना प्रहरी र मतदातामा आएको चेतना सबैले गर्दा केही घटनाबाहेक निर्वाचन स्वच्छ ढङ्गमा भएको पाएका छौँ । नागरिकमा समेत निर्वाचनलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन पायौँ जसको कारणले झन्डै ८१ प्रतिशतभन्दा बढी मतदाताले मतदान गरे । यसरी उनीहरुले प्रस्तुत गरेको लोकतन्त्रप्रतिको स्थायी भावले पनि निर्वाचन सफल भएको मान्न सकिन्छ ।

Kedar Khadka 1निर्वाचनमा मत खसाल्ने मतदाताको प्रतिशत किन यसरी बढेको होला ?
–हामीले हेर्दा यस पटकको निर्वाचन बढी स्वच्छ देखियो । राजनीतिक दलमा धाँधली न्यून देखियो । सहितको मतदाता नामावलीको कारण अर्कैको परिचयपत्र प्रयोग गरेर भोट खसाल्न पाएनन् । मतदाताले पनि तस्बिरसहितको परिचयपत्र पाउँदा गौरवको अनुभूति गरे र सबैजसो मानिस दुई तीन दिनअघि लाइनमा बसेर आफ्नो परिचयपत्र लिई निर्वाचनको दिन भोट हाल्न गए । वास्तवमा नानगरिकले यस पटकको निर्वाचनलाई महोत्सवका रुपमा लिएको हामीले पायौँ । मतदातामा देखिएको यति ठूलो उत्साहले नै २०६४ को भन्दा बढी प्रतिशत भोट खसेको हाम्रो बुझाइ छ । केही राजनीतिक शक्तिको विरोधका बीचमा यति धेरै सहभागितामा निर्वाचन हुनु उल्लेखनीय उपलब्धि हो ।

नेकपा–माओवादी नेतृत्वको ३२ दलीय मोर्चाको बहिष्कार र त्रासका गतिविधि नभएको भए अझ धेरै मत खस्न सक्ने रहेछ हैन त ?
–हो, त्यस्तो देखियो । यसलाई दुई ढङ्गले हेर्नुपर्छ । एउटा नेपाली जनतामा संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्छ भन्ने तीव्र आकाङ्क्षा देखियो । दोस्रो शान्ति सुरक्षाको प्रत्याभूति हो । सरकारले यस्तो मजबुज सुरक्षा व्यवस्था मिलायो कि मतदाता मतदान केन्द्रसम्म जाँदा ढुक्कसँग जान पाए । अर्को कुरा नागरिकहरु अतिवादका विरोधमा मत हाल्न पनि जागरुक भए । जातीय अतिवाद, क्षेत्रीय अतिवाद, धार्मिक अतिवादलगायत विरुद्धमा नागरिकको सक्रिय सहभागिताले पनि यस पटक धेरै प्रतिशत मत खसेको हो ।

निर्वाचनमा तेस्रो घेरामा रहने भनिएको सेना किन विवादमा तानियो ?
–हामीले दश हजारभन्दा बढी पर्यवेक्षक परिचालन गरेका थियौँ । त्यसमा राष्ट्रिय व्यक्तित्वदेखि लिएर अन्य क्षमतावान् व्यक्तित्व हुनुहुन्थ्यो । उहाँहरु सबैबाट हामी माझ आएको रिपोर्टिङ भनेको सेना अत्यन्त अनुशासित तवरबाट परिचालन भएको छ । उसले तेस्रो घेरामा बसेर जुन भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो गरेको छ । एकदमै असहज परिस्थितिका बीचमा निर्वाचन भएको थियो । साँझ ५ बजेपछि मतदाताले अभिव्यक्ति गरेको मत सुरक्षित रुपमा मत गणनास्थलसम्म पु¥याउनुपर्ने थियो र त्यस काममा नेपाली सेना अग्रसर भएको देखिन्छ । त्यस समयमा गाडीमा अटेसम्म राजनीतिक दलका प्रतिनिधि पनि सँगै गएको देखिन्छ । त्यसकारण हामी मात्रै हैन अन्य राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षण संस्थाको रिपोर्टिङ पनि यस्तै छ । त्यसकारण सेना विवादमा तानिएकोभन्दा पनि जबर्जस्त तान्न खोजिएको मात्र हो ।

एकीकृत नेकपा (माओवादी) लगायत केही दलले सेनाले मतपेटिका साट्ने काम गरेको आरोप लगाएका छन्, के त्यसो भएको होला त ?
–यहाँहरुले भनेको जस्तै एकाध घटनाका बारेमा हामीले पनि सुनेका छौँ । कहीँ धाँधली भएको भनेर टेप नै सार्वजनिक भएको पनि छ । झन्डै चार लाख कर्मचारी परिचालन भएको निर्वाचनमा एकाध ठाउँमा त्यस्ता घटना भए भनेर त्यसलाई सामान्यकृत गरी अन्य क्षेत्रमा पनि त्यस्तै भयो भनेर भन्नुहुन्न किनकि त्यसको न्याय निरुपण गर्न संवैधानिक अदालत स्थापना भएको छ । जति पनि घटनाका विषयमा जानकारी आएका छन्, हामीले त्यसका बारेमा निर्वाचन अयोगलाई जानकारी गराएका छौँ । आयोगमा परेका झन्डै दुई सय उजुरीको आफ्नो क्षेत्राधिकारभित्र रही तत्कालै समाधान खोजेको हामीले देखेका छौँ । केही सामान्य घटना पनि निर्वाचन नै बहिष्कार गरेर हिँड्नुपर्ने गरी भएको छैन ।

निर्वाचन आयोगले उम्मेदवारको उजुरीलाई बेवास्ता ग¥यो नि यस पटक, हैन ?
–केही ठाउँमा त्यस्तो घटना भएको सुनियो । दलहरुले आफ्नो अनुकूलको निर्वाचन नभएको देखेपछि सुनियोजित रुपमा घटना गराइएको पनि छ । तर त्यो काम निर्वाचन आयोग र सरकारका तर्फबाट नभई दलहरुबाटै भएका छन् । त्यस्ता घटनामा पनि आयोगले तत्कालै रेस्पोन्स गरेको हामीले पाएका छौँ ।

पर्यवेक्षणको दृष्टिले निर्वाचन स्वच्छ नै भएको छ ?
–एकदममै स्वच्छ भएको छ । छिटफुट घटनाभन्दा बाहेक निर्वाचन धाँधलीरहित, स्वच्छ र शान्त भएको छ । यो निर्वाचन ऐतिहासिक भएको छ । यदि कुनै दलको गुनासो छ भने संवैधानिक अदालतमा गएर त्यसको जवाफ खोज्न सकिन्छ ।

साभारः ककनी पोष्ट साप्ताहिक ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us