चाहेको जस्तो मान्छे भेटेकी छैन: जानकी पन्थ, संगितकार

Published on: Sun, Dec 8th, 2013 By

नेपाली गीतसङ्गीतका क्षेत्रमा विरलै सङ्गीतकार महिला देखिएको अवस्थामा जानकी पन्थले एकल सङ्गीतमा ‘जित’ शीर्षक एल्बम सार्वजनिक गरिसकेकी छन् । एल्बमको एकल गीतकार पनि जानकी आफैं हुन् । नेपाली सङ्गीत सिर्जनामा महिला अभावपूर्ति गर्ने जानकीको इच्छा छ । पछिल्लो समय उपन्यास लेखनमा लागेकी पन्थले हरेक शब्दमा विछोडको माला उन्दा उन्दै नेपाली सङ्गीत क्षेत्रमा राम्रै पकड जमाएकी छन् । धेरै आँसु बगेको छ उनका शब्दहरुमा । नेपाली लोकदोहोरी तथा सुगम सङ्गीतका क्षेत्रमा गीतकारका साथै सङ्गीतकारका रुपमा परिचय बनाएकी पन्थसँग ककनी पोष्टका लागि विजय उप्रेतीले गरेको कुराकानी :

अचेल केमा व्यस्त हुनुहुन्छ ?
म एउटा रेडियोको काममा व्यस्त छु, अध्यनलाई पनि निरन्तरता दिँदै छु । एउटा उपन्यास लेख्दै छु र पछिल्लो एल्बम जीतको प्रचारमा व्यस्त छु ।

तपाईंले पहिलो पटक लेखेको गीत कुन हो ?
‘डाँडापारि जुन भए त डांँडावारि घाम’ र ‘न्याउली रुँदा यो मन रुन्छ’ यी दुई गीत हुन् ।

कुन उमेरदेखि गीत रचनामा हुनुहुन्छ ?
गजल, कविता त ६ र ७ कक्षामा पढ्दादेखि नै लेख्थँे भने कति गीत त मेरो डायरीमा मात्र सीमित छन् ।

कति गीत लेख्नुभएको छ ?
एक सय ५० गीत लेखेको छु तर छ वटा चाहिँ आफ्नै एल्बम छन् जसमा ‘ओए बूढा’, ‘पल्लाघरे लाहुरेले लान्छ अरे वाई’, ‘बबाल तीज’, ‘हल्ला चल्छ चलिरहन देऊ’, ‘सँघार’लगायत हुन् ।

तपाईं सङ्गीतमा प्रवेश गर्दा र अहिलेको अवस्था कस्तो छ ?
लोकप्रियताको हिसाबले सिआरबीटी र पिआरबिटी राम्रो हो । यदि सिआरबिटी र पिआरबिटी राम्रो डाउनलोड भयो भने फाइदा हुन्छ तर सिआरबिटी धेरै डाउनलोड भएन भने लगानि नै उठ्दैन । त्यही भएर पहिलेका क्यासेटहरु पनि राम्रै थिए ।

तपाई त सङ्गीतकार पनि हुनुहुन्छ हैन ?
मेरो पाँच वटै एल्बममा आफ्नै सङ्गीत हो ।

लोकगीतबाट किन आधुनिक गीततिर ?
सिर्जना गर्ने व्यक्तिले जस्तो गीत पनि सिर्जना गर्छन् । म सबै प्रकारको गीत लेख्नुपर्छ भन्ने मान्यता राख्छु ।

किन वियोगान्त गीत मात्र लेख्नुहुन्छ ?
आफूलाई परेर मात्र लेख्नुपर्छ भन्ने त छैन नि । म बाटामा देखेका कुराहरुलाई सम्झेर, भावनामा बगेर गीत लेख्छु । आफ्नै अनुभवमा एउटा गीत लेखेको छु, जुन गीतको बोल छ ‘मायालाई तराजुमा जोख्न हुने भए’ ।

गीत रचना गर्न सजिलो कि गाउन ?
गायनमा धेरै कुरा सिक्न बाँकी रहेकाले गीत रचना गर्न र सङ्गीत तयार पार्न सजिलो लाग्छ । सङ्गीतकार राम सिटौलासँग सङ्गीतको प्रशिक्षण लिइरहेकाले गायनलाई पनि सजिलो बनाउने क्रममा छु ।

प्रस्ताव कत्तिको आउँछन् ?
धेरैले प्रस्ताव राखे तर मैले चाहेको जस्तो मान्छे भेटेकी छैन ।

पहिलो प्रस्तावको सम्झाना छ ?
पहिलो प्रपोज चाहिँ कक्षा ६ मा पढ्दाखेरि आएको थियो ।

पुरुषको केले तान्छ ?
मलाई बुझ्ने खालको, दुई तीन वर्ष सिनियर, व्यक्तित्व राम्रो तर घमण्डी मन पर्दैन ।

सेक्सलाई कसरी बुझ्नुभएको छ ?
यौवन अवस्थामा प्रवेश गरेपछि अरु आधारभूत आवश्यकता जस्तै यो पनि आधारभुत आवश्यकता हो ।

नयाँ बन्ने संविधानबाट तपाईंको अपेक्षा के छ ?
कलाकारलाई गहना हैन अङ्ग बनाउनुप¥यो । हाम्रा सुरक्षाका कुरा पनि संविधानमै लेखियोस् । सभारः ककनी पोष्ट साप्ताहिक

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us