अरुका लागि बाँच्न चाहन्छु: पुष्पा बस्नेत, समाजसेवी

Published on: Thu, Jan 2nd, 2014 By

जेलमा रहेका बुबा–आमाको रेखदेख र पालन–पोषण नपाएका बाल–बालिकाको शिक्षा, दीक्षा र लालन–पालन गर्दै आएकी पुष्पा बस्नेत सन २०१२ को सीएनएन हीरो हुन् । संसारभरका अन्य नौ प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा उनले सीएनएन हीरो, २०१२ हात पारेकी हुन् । अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर र बटरफ्लाई होम सञ्चालन गर्दै आएकी पुष्पाले ४५ बाल–बालिकाको पालनपोषण र शिक्षा दिक्षाको काम गर्दै आएकी छिन् । अहिले उनीसँग पाँच महिनाको बच्चादेखि ९ कक्षामा अध्ययन गर्ने बाल–बालिका छन् । आफ्नो व्यक्तिगत जीवनको पर्वाह नगरी सामाजिक कामलाई प्राथमिकता दिई काम गर्दै आइरहेकी पुष्पासँग ककनी पोष्टले गरेको कुराकानी ।

Puspa Basnetतपाईं सीएनएन हीरो घोषित नहुँदै र भएपछि के फरक पाउनुभयो ?
सीएनएन हीरो नहुँदा र हुँदामा मेरो जिन्दगीमा कुनै परिवर्तन आएको छैन । त्यस्तै हो । पहिले फुर्सद हुन्थ्यो, अहिले हुँदैन । काममा बढी व्यस्त छु । सीएनएन हीरो भएपछि धेरै कुरा थाहा पाउने अवसर पनि प्राप्त भयो । आफ्नो काम र जिज्ञासा, टिप्पणी सबै सुन्न पाइयो ।

सिएनएन हीरो भएपछि कस्तो खाले परिवर्तन आएको छ ?
–परिवर्तन धेरै कुरामा आएको छ । मान्छेहरूले हेर्ने दृष्टिकोण फरक भएको छ । काममा सहजता आएको छ । मान्छेको अपेक्षा धेरै हुँदो रहेछ । मैले अहिले त्यो सबै अपेक्षा पूरा गर्न ससकेको छैन । अझै जेलमा बच्चाहरू छन् । उनीहरूलाई ल्याएर राखेर मात्रै पनि भएन । उनीहरूलाई दिने शिक्षा लगायतका कुरामा गुणस्तरीयता हुनु प¥यो ।

बच्चाहरूको सङ्ख्या पनि बढेको छ कि ?
–स्वाभाविक रूपमा बच्चाहरूको सङ्ख्या बढेको छ । कतिपय बच्चाहरुरू अभिभावक जेलबाट निस्किएपछि सँगै जान्छन् । कतिपयले त्यहीँ पठाइदिनुस् भन्छन् । अहिले ४५ जना बाल–बालिकाल हामीसँग छन् ।

राज्यको पहिला र अहिलेको दृष्टिकोणमा केही भिन्नता छ ?
–पहिलाको तुलनामा राज्यको दृष्टिकोण फरक छ । अहिले बच्चाहरू आउँदा पनि सरकारमार्फत् आउने गरेको छ । राज्यले सहयोगी भावले काम गरेको छ । जुन पहिला हुने थिएन । केही काम लिन जाँदा पनि बढी नै झन्झट व्यहोर्नु पर्ने हुनेथियो ।

प्रधानमन्त्री या दलका शीर्ष नेताले तपाईंलाई बधाई दिए कि दिएनन् ?

कसैले दिनुभएन तर राष्ट्रपतिलाई मैले आफैं भेटे । त्योबाहेक भएन । मलाई मैले आफ्नो देशको नभए पनि सीएनएन हीरो भएपछि मलेसियाको प्रधानमन्त्रीसँग भेटें । उहाँ एकदम खुसी हुनुभयो । विदेशमा भेट गरिरहेको छु । मसँगको भेटमा मलेसियाका प्रधानमन्त्री एकदम खुसी हुनुभएको थियो ।

यो संस्थाको सुरुवात तपाईंले कसरी गर्नुभयो ?
पढ्न जाने बेलादेखि नै मैले कारागारमा रहेका बाल–बालिकाहरूका लागि केही गर्नुपर्छ भन्ने लागेको थियो । सात–आठ वर्ष भइसक्यो, यो संस्था चलाएको । अहिलेसम्म दुःख–सुख चलिरहेको छ । सेन्टजेभियर्स कलेजमा पढ्दै गर्दा नै यस्तो जागरण आएको थियो ।

कुन जेलमा बाल–बालिकाको त्यस्तो अवस्था देख्नुभयो ?
सेन्ट्रल जेलमा । महिला कारागारबाटै मैले काम थालनी गरेको हो ।

यो दौरानमा चुनौती कत्तिको आइपरेका छन् ?
हरेक क्षेत्रमा चुनौती छ । यो क्षेत्रमा पनि निकै चुनौती छ । मान्छेले भन्दै गर्छन्, तर आफ्नो काम गर्दै जानुपर्छ । चुनौती भयो भनेर पछि हट्नुभएन । यहीँ हेर्ने हो भने पनि बच्चाहरू खेलिरहेका छन् । उनीहरूले पेन्सिल आँखामा घुसाए भने पनि यही चुनौती हो । तर, हरेक क्षेत्रमा च्यालेन्जिङ लिन सक्नुप¥यो । आफ्नो संस्था के हो भन्ने कुरा बुझ्नुप¥यो । आफू अघि जाने होइन, संस्थालाई अघि बढाउने हो । मभन्दा पनि संस्था अघि छ ।

सहयोगी हातहरू पनि बढेका छन् ?
–छन् । पहिलाको तुलनामा केही बढेको छ ।

प्रत्येक नावालकहरूको आवश्यकता कत्तिको पूरा गर्न सकेजस्तो लाग्छ ?
मैले उनीहरूको सबै आवश्यकता पूरा गरेकी छु । उनीहरूको उमेरअनुसारको चाहना बुझेर, उनीहरूले मागेका वा नमागेका कुराहरू मैले निरन्तर उपलब्ध गराई नै रहेकी छु । मैले मेरो उमेरअनुसार जति आवश्यकताहरू आफ्ना अभिभावकबाट पूरा गराए, त्योभन्दा बढी चाहना मैले यिनीहरूको पूरा गरेकी छु । खाने, लगाउने उमेरअनुसार देख्न, हेर्न चाहने सबै कुराहरू उनीहरूलाई उपलब्ध गराएकी छु । मैले अहिले नै उनीहरूको उमेरअनुसारको चाहना पूरा गरें भने उनीहरूमा कुण्ठा रहन पाउँदैन र उनीहरू भोलि गएर नराम्रो काममा लाग्ने सम्भावना पनि कम हुन्छ ।
कोबाट प्रेरणा पाएर संस्था स्थापना गर्नुभयो ?
–आपूmलाई आफैंबाट जबसम्म प्रेरणा हुँदैन, कसैबाट पाएर हुँदैन । पहिले आफैंले म केही गर्छु भन्ने प्रेरणा लिन सक्नुप¥यो । कति मान्छेलाई भने पनि आँट आउँदैन । मेरो प्रेरणा भनेको आँट नै हो । हरेक मान्छेले सहयोग नगरेको भए समस्या हुन्थ्यो । एकजनाको मात्र नाम लिने अवस्था नै छैन । जेलमा रहेका दिदी–बहिनीले मलाई विश्वास गरेर बच्चा दिने, जेलरले विश्वास गरेर सहयोग गर्ने, संस्था दर्ता गर्न जाँदा त्यहाँका मान्छेहरूले पनि यो फुच्चीले केही गर्छे भनेर सहयोग गरे । सबैबाट अहिलेसम्म सहयोग नै पाइरहेको छु ।

परिवारबाट कस्तो सहयोग पाउनुभयो ?
–परिवारबाट मेरो बुबाले नाइँ, हुँदैन भन्नुभएको थियो । उहाँ डराउनु पनि भएको थियो । अर्काको बच्चा तलमाथि भयो भने समस्या हुन्छ भन्नुहुन्थ्यो ।

अहिलेको समाज र राजनीति हेर्दा कस्तो लाग्छ ?
राजनाीतिको कुरा गर्न गाह«ो हुन्छ । जो मान्छेले जे गर्ने सोचेको हुन्छ, त्यसका लागि प्रष्ट हुनुपर्छ । आफूले के गर्न चाहेको भन्ने कुरामा प्रष्ट हुनु जरुरी छ । जस्तो म मैले गर्न चाहेको काममा प्रष्ट छु । त्यसो त म एक्लो छैन । संस्थामा अरु पनि थुप्रै छन् । उहाँहरूले पनि जसले गर्न चाहेको हुन्छ, त्यसलाई साथ दिनु आवश्यक छ । मिसनमा प्रष्ट भएपछि समर्थन पनि पाइँदोरहेछ ।

– राजनीतिमा कत्तिको चासो राख्नु हुन्छ ?
मलाई राजनीतिमा चासो छैन । म त राजनीतिकर्मीलाई यहाँ आएर हाम्रोमा हेर भन्न चाहन्छु । यहा जात, वर्ण, भाषा, धर्म र लिङ्गको भेद छैन । हामीबाट केही सिक भन्न चाहन्छु । बाँच्नु छ भने, आफ्ना लागि थोरै र अका लागि धेरै बाँच भन्न चाहन्छु । त्यसपछि थाहा पाउने छौं, अर्काका लागि बाच्नमा कत्ति मजा छ भनेर ।

तपाईहरूले गरेकोजस्तो काम राज्य आफैँले पनि गर्नुपर्ने हो कि होइन ?
–गर्नुपर्ने त हो । तर यहाँ गर्ने सम्भावना देखिंदैन । काम भनेको व्यावहारिकतामा देखिनुपर्छ । जुन कुरा यहाँ देख्न नै गाह्रो हुन्छ । घर मात्रै बनाएर पनि समस्याको समाधान हुँदैन । त्यसकारण राज्य आफैँले यस्तो काम नगरे पनि काम गर्नेहरूलाई हौसला प्रदान गर्दै सहयोग गर्नु आवश्यक छ । सबै ठाउँमा पैसा नै दिनुपर्छ भन्ने छैन । सहयोग गर्नेहरूसँग सम्बन्ध स्थापित गरेर पनि सहयोग गर्न सकिन्छ । तर पहिलाको तुलनामा राज्यलाई केही सहयोगी रूपमा पाएको छु ।

तपाईं आफ्नो जीवनबाट सन्तुष्ट हुनुहुन्छ ?

म एकदम सन्तुष्ट छु । म निकै खुसी छु । साना बच्चाहरूसँग जिन्दगी बिताउन पाएकी छु । कहाँ कसको कोखमा जन्मेका हुन्, म कहाँ जन्मेको, अहिले सँगै छौं । हामीसँग जात, धर्म केही छैन । हामी परिवार छौं । सबैभन्दा राम्रो पक्ष बाल्यकाल नै हो । त्यसैले म निकै भाग्यमानी छु । यिनीहरूको बाल्यकालसँग बिताउन पाएकी छु ।

व्यक्तिगत जीवनको बारेमा केही सोच्नु भएको छ कि ?
–व्यक्तिगत जीवन भनेको बाँचुञ्जेल मात्रै हुने हो । त्यसैले मैले बिहे नै गर्दिनँ भन्ने हैन । तर अहिले मेरो प्राथमिकतामा यस किसिमको समाजिक काम छ र सोही अनुसारको जिम्मेवारी पनि छ । मेरो बुबा–आमाको सोचाइ पनि मैले बिहे गरेर बुहारी मात्रै बनोस् भन्ने छैन । उहाँहरूले मलाई मेरो जीवनको बारेमा आफैँ निर्णय गर्न दिनु भएको छ । भोलि मैले बिहे गरेँ भने त यो सबै काम गर्न असम्भव हुन्छ, त्यसकारण अझै केही समय त्यसतर्फ सोच्दिनँ ।

साभारः ककनी पोष्ट साप्ताहिकबाट ।

 

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us