वर्षमा एकपल्ट स्वास्थ्य जाँच गर्न चिकित्सकको सल्लाह

Published on: Sun, Apr 10th, 2016 By Diwas Pokhrel

२८ चैत्र, काठमाडौं । बढ्दो शहरीकरणसँगै नसर्ने रोगका जोखिम उच्च हुँदै गएको चिकित्सकले बताएका छन् । परिवर्तित जीवनशैली र अव्यवस्थित खानपानका कारण नसर्ने रोगको जोखिम बढ्दै गएको हो ।
शरीरको तौल नियन्त्रण गर्न नसक्नु, स्वच्छ खानपानमा ध्यान नदिनु र नियमित व्यायाम नगर्नु नसर्ने रोग बढ्दै जानुको मुख्य कारण भएको मिर्गौला रोग विशेषज्ञ डा। पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अव्यवस्थित जीवनशैलीकै कारण मधुमेह, रक्तचाप, मुटु, पक्षघात, रतन्धो, मिर्गौला र क्यान्सर जस्ता नसर्ने रोगका बिरामी बढ्दै गएका छन् ।
यस्ता रोगको लक्षण तत्काल देखा नपर्ने हुँदा पनि उपचारमा ढिलाई हुने गरेको उहाँले बताउनुभयो । धेरै ढिला गरी लक्षण देखिने र लक्षण देखिँदा गम्भीर अवस्थामा पुगिसक्ने हुँदा बिरामीले आजीवन औषधि खानुपर्छ । नसर्ने रोगको उपचार महँगो हुने र आजीवन औषधि सेवन गर्नुपर्ने भएकाले सामान्य आय भएका व्यक्ति उपचारको पहुँचमा पुग्न सक्दैनन ।
जसले गर्दा उनीहरुको स्वास्थ्य समस्या थप बढ्दै जाने डा. पुकारचन्द्र श्रेष्ठले बताउनुभयो । खानपानमा ध्यान नदिँदा मधुमेह र रक्तचापको विरामी बढेका र यही कारणले पनि अरु रोग देखा पर्न थालेका उहाँको भनाई छ ।
वर्षमा एकपल्ट मात्रै स्वास्थ्य जाँच गराए अनि सन्तुलित आहार र व्यायाममा ध्यान दिए नसर्ने खालको रोगबाट बच्न सकिने डाक्टरले बताएका छन् ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us