नेपथ्यको अमेरिका भ्रमण सकियो

Published on: Mon, Jul 4th, 2016 By Sushil Dahal

अमेरिकामा भएको एएनए (एशोसिएसन अफ दी नेप्लीज इन दी अमेरिकाज) को सम्मेलनकै मुख्य आकर्षणका रुपमा नेपथ्यले जुलाई २ तारिखका दिन गरेको सांगीतिक प्रस्तुतीसँगै यो समूहको यस वर्षको अमेरिका भ्रमण सकिएको छ ।

एटलान्टा शहरको परिचित मञ्च ‘सेन्टर स्टेज’ मा अमेरिका यात्राको दोश्रो कार्यक्रमका रुपमा नेपथ्य प्रस्तुत भएको थियो। यसअघि समूहले लस एन्जलसमा एक हप्ताअघि नेपाली लोक रक सुनाएको थियो। ब्याण्डले पहिलो गीतका रुपमा ‘भेँडाको ऊनजस्तो’ सुनाएको थियो ।

त्यसपछि नेपथ्यका सर्वकालीक हिटहरु ‘छेक्यो छेक्यो’, ‘चरि मर्‍यो’ हुँदै ‘जोमसोमे बजारमा’ गाउनुअघि ब्याण्डका मुख्य गायक एवं टोली अगुवा अमृत गुरुङले लोकगीतका भाका खोज्दै नेपालका डाँडा काँडा घुम्दाको रमाइलो अनुभव सुनाएका थिए ।त्यसपछि उनले यस्तै घुमफिरमा भेटिएको अर्को रमाइलो ‘सालैजो’ भाकामा गीत सुनाए ।

‘लाग्यो कुहिरो दिनभरि’ बोलको यो गीत अमृतले गुल्मी र बाग्लुङको यात्राका क्रममा संकलन गरेका हुन्। कार्यक्रमको बिचमा अमृतले सँधै झैँ मनमा लागेका कुराहरु बोल्न पनि छुटाएनन् । ‘यस्तो समाजमा बस्न पाउनुभएका तपाइँहरु भाग्यमानी हुनुहुन्छ,’ उनले थपे, ‘यदि महिनाको एक रात महँगो भोजन त्याग्नु भयो भने तपाइँले आफ्नो गाउँका कुनै अशक्त वालकलाई राम्रो शिक्षाको अवसर दिलाउन सक्नु हुन्छ।’

कार्यक्रमको अन्त्य भने गोपालप्रसाद रिमालका शब्दलाई अम्बर गुरुङले संगीतबद्ध गरेपछि गुरुङ र फत्तेमानले गाएको ‘रातो र चन्द्रसूर्य’ को चिरपरिचित नेपथ्य प्रस्तुतीबाट भएको थियो ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us