छिट्टै राजनीतिक सहमति हुने प्रधानमन्त्रीको दाबी

Published on: Wed, Jan 4th, 2017 By Diwas Pokhrel

२० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्तावसम्बन्धी सर्वोच्चको फैसलाले राजनीतिक दलहरुलाई एक ठाउँमा बसेर छलफल गरेर सहमतिमा जानको लागि मद्दत पुर्याएको बताएका छन् ।
बुधबार रिपोर्टस् क्लब नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले भने, ‘सर्वोच्च अदालतको पछिल्लो फैसलाले दलहरुलाई राजनीतिक सहमतिका लागि प्रेरित गरेको छ, मैले सहमतिका लागि कोसिस गरिरहेको छु । प्रतिपक्षी दलले सदन खुलाउने र मधेसी मोर्चा पनि संविधान संशोधन प्रस्तावको पक्षमा आउने परिस्थिति बनेको छ । अब छिट्टै राजनीतिक सहमति जुट्छ ।’
संविधान संशोधनमा कसरी दुई तिहाई पुग्छ त भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले भने, ‘त्यो चाहिँ प्रस्तावमाथि छलफल भएर भोटिङ्मा गएपछि थाहा हुन्छ, हामीले त दुई तिहाई पुग्छ भनेर नै प्रस्ताव दर्ता गरेको हौं ।’ तर एमाले लगायतका विपक्षीसँग संसदमा त २०१ संख्या छ अरे नि भन्ने अर्को प्रश्नमा उनले थपे, ‘त्यही भएर त उहाँहरुले गल्ती गर्नुभएको छ, भए त भोटिंगमा गएर हराए भैगयो नि त ?’ उनले अब संशोधन प्रस्ताव अवैध भयो भन्ने पनि नरहेको दाबी गरे । उनले थपे, ‘सर्वोच्चले फैसला दियो नि, त्यसले नै थाहा हुन्छ यो प्रस्ताव संवैधानिक छ ।’
त्यस्तै उनले निर्वाचनको मिति सदन खोलेर निर्वाचनसम्बन्धी विद्येयक टेबुल भएपछि र संविधान संशोधन प्रस्तावमाथि छलफल भएपछि छिट्टै घोषणा हुने विश्वास दिलाए । उनले अघि थपे, ‘भन्न त जसले जे भने पनि भयो, तर अब संसद खुल्यो सहमति हुन्छ ।’
संविधान कार्यान्वयन सरकारको मुख्य प्राथमिकता रहेकोमा जोड दिँदै प्रधानमन्त्री दाहालले भने, ‘देश नै धु्रवीकरणमा जाने खतरा देखेपछि मैले प्रधानमन्त्री स्वीकार गरेको हुँ, म प्रधानमन्त्री हुँदा नै मधेसी, थारु, जनजाति, कांग्रेस, एमालेलाई पनि सहमतिमा ल्याउन सकिन्छ भन्ने देखेर नै म यहाँ छु । हिमाल, पहाड र तराईलाई एकताबद्ध गर्ने मेरो संकल्प छिट्टै पूरा हुन्छ ।’
सरकार राजनीतिक मुद्दाका साथै विकासका काममा केन्द्रित भएको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘राजनीतिक विवादमा अल्झिँदा विकासका मुद्दा ओझेलमा पर्ने गरेका छन्, यसपटक मैले विकासका काममा जोड दिएको छु, विकासका कामका केही गरौं भन्ने संकल्पसहित देशभरि दौडीरहेको छु । सोजेजस्तै प्रगति नभए पनि सकारात्मक परिणाम देखिन थालेका छन् । राजनीतिलाई विकाससँग जोड्ने मेरो संकल्प छ ।’
उनले मुलुक यतिबेला संविधान कार्यान्वयनको निकै नै संवदेनशील चरणबाट गुज्रिरहेको अवस्थामा रहेको उल्लेख गर्दैै थपे, ‘हुन त संविधान घोषणा भएदेखि नै कार्यान्वयनको प्रक्रिया सुरु भई नै सकेको हो । तर यसको आधारभूत पक्ष संस्थागत गर्ने कुरा निर्वाचनसँग जोडिएको छ । जबसम्म संविधानमा निर्दिष्ट गरेअनुसार स्थानीय, प्रादेशिक र केन्द्रीय निर्वाचन भएर एउटा नयाँ परिस्थिति सिर्जना गरिँदैन, तबसम्म संविधान कार्यान्वयनको सबैभन्दा संवेदनशील पक्षचाहिँ पूरा भएको मानिँदैन् । यो कुरा पनि आज फेरि एकपटक स्मरण गर्न चाहन्छु ।’
उनले अघि थपे, ‘संविधान घोषणा गर्दा नेपालमा कम चुनौतीपूर्ण चाहिँ थिएन । किनकि धेरै लामो संघर्ष र धेरै ठूलो बलिदानपछि मात्रै संविधानसभा भयो, पहिलो संविधानसभा असफल भएपछि जनतामा, मानिसहरुमा कहीँ न कहीँ गम्भीर प्रश्नहरु थिए–के दोस्रो संविधानसभाले संविधान बनाउला त ? भनेर । तर धेरै अप्ठ्यारा र चुनौतीहरुको सामना गरेर संविधान घोषणा भयो । तर नेपालको संविधान संविधानसभाबाट घोषणा हुने कुरा एउटा आफंैमा ठूलो कुरा त थियो । त्यसको एउटा मौलिक पक्ष के पनि थियो भने संविधान घोषणा गर्ने बेलामा नै प्रमुख दलहरु जसले संविधान घोषणा गरे उनीहरुले संविधान संशोधन गरिन्छ भनेर घोषणापूर्व नै संविधान संशोधनको कुरा गर्नुपरेको थियो । किनकि यसमा एउटा समुदाय र पक्ष, र केही दलहरु असन्तुष्ट भएको र आन्दोलनमा गएको स्थिति थियो त्यसकारण हामीले संविधान संशोधन गरेर आन्दोलनरत र असन्तुष्ट पक्षहरुलाई पनि सहमतिमा लिएर संविधान कार्यान्वयन गरेर लैजान्छौं, परिमार्जन गरेर लैजान्छौं भनेर त्यतिबेलै घोषणा गरिएको थियो । यो कुरामा मानिसहरुको कम ध्यान गएको छ ।’
संविधानसभाबाट संविधान घोषणा गर्दैगर्दा संसदमा आफू प्रमुख प्रतिपक्षको भूमिकामा रहेको र संविधान बनाउनको निम्ति आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिका समझदारी बनाउनको लागि, सहमति बनाउनको निम्ति आफूले गर्नुपर्ने त्याग प्रस्तुत गरेर भए पनि संविधान घोषणा गर्ने वातावरण बनाउन सक्रिया भूमिका निर्वाह गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जुन भूमिका हामीले निर्वाह गर्यौं, अहिले संविधान कार्यान्वयनको खासगरी यो निर्वाचनसँग सम्बन्धित विषयमा पनि मैले त्यस्तै त्यस्तै महसुस गर्छु । संविधान घोषणा गर्ने बेलाको जस्तै अहिले पनि मेरो भूमिका धेरै नै महत्वपूर्ण छ ।’
उनले अहिले मानिसहरुमा संविधान कार्यान्वयन हुनेबारेमा विभिन्न जिज्ञासाहरु रहेको बताउँदै भने, ‘दोस्रो पटक प्रधानमन्त्रीको पद मैले ग्रहण गरेको पनि राष्ट्रलाई निकास दिन मेरो नेतृत्वमा बढी सम्भावना छ भन्ठानेर नै मैले स्वीकारेको हो, प्रधानमन्त्रीको पदकै कुरा गर्नुहुन्छ भने त संविधान घोषणा हुनेवित्तिकै मलाई अफर वा प्रस्ताव आएकै हो । र म प्रधानमन्त्रीमात्रै हुन चाहेको भए तुरुन्तै हुने सम्भावना पनि थियो, तर मैले जुन देशको परिस्थितिमा राष्ट्रिय सहमतिको पक्षमा दलहरुकोवीचमा जे सहमति थियो, त्यो नैतिक धरातलमा टेक्दा खेरि मैले आफू प्रधानमन्त्री हुन खोज्नु हुँदैन भनेर मैले अस्वीकार गरेको स्थिति हो ।’

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us