म्यानचेस्टर युनाइटेड पहिलो पल्ट युरोपा लिगको सेमिफाइनलमा

Published on: Fri, Apr 21st, 2017 By Sushil Dahal

८ बैशाख, काठमाडौं । इङ्लिस प्रिमियर लिगको चौथो स्थानमा रहेर अघिल्लो सिजन च्याम्पियन्स लिगमा सहभागी बन्न संघर्षरत म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ। मार्कुस रासफोर्डले अतिरिक्त समयको १ सय ७ मिनेटमा निर्णायक गोल गरेपछि एन्डरलेच्टलाई आफ्नो घरेलु मैदानमा २–१ गोलले पराजित गर्दै म्यानचेस्टर पहिलो पल्ट युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको हो। पहिलो लेग १–१ गोलको बराबरी खेलेको म्यानचेस्टरले विहिबार राती ओल्ड ट्राफोर्डमा भ्रमणकारी टोलीलाई पराजित गरेपछि समग्रमा ३–२ को नतिजा निकाल्दै अन्तिम ४ मा प्रवेश पायो।

म्यानचेस्टरका लागि १० मिनेटमै हेनरिख मखिटार्यनले गोल गरेका थिए। तर, ३२ मिनेटमा सोफियान हानीले गोल फर्काउदै निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा राखेका थिए। निर्धारित समयमा पहिलो र दोस्रो लेगको नतिजा २–२ को बराबरी भएपछि खेल अतिरिक्त समयका लागि लम्बिएको थियो। जसमा गत साता प्रिमियर लिगको शीर्ष स्थानमा रहेको चेल्सीविरुद्ध गोल गरेका रासफोर्डले पुनः आफनो क्षमता देखाएपछि म्यानचेस्टर सेमिफाइनल प्रवेश गर्यो। निर्धारित समयको अन्तिम मिनेटमा म्यानचेस्टरले आफ्नो स्टार स्ट्राइकर जाल्टन इब्राहिमोभिक घुँडाको चोट बोकेर बाहिरिन बाध्य भए। अर्जेन्टिनी डिफेन्डर मार्कोस रोजा पनि घाइते बन्न पुगेका थिए।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us