दार्जिलिङमा हिंसा भड्क्यो, एक जनाको मृत्यु

Published on: Sun, Jun 18th, 2017 By Sushil Dahal

गोरखा जनमुक्ति मोर्चा र सुरक्षा बलबीच भएको झडपमा एक सर्वसाधारणको मृत्यु भएको  छ। उनको परिचय खुलेको छैन। मृतकलाई आर्मी अस्पतालमा राखिएको सञ्चार माध्यमहरुले जनाएका छन्। झडपमा इन्डियन रिजर्भ बटालियन (आइआरबी) का एक असिस्टेन्ट कमान्डर किरण तामाङ गम्भीर घाइते भएका छन्। थप ३५ पुलिस जवान पनि घाइते भएको दार्जिलिङ टाइम्सले जनाएको छ। पश्चिम बंगालका एसपी अनुश शर्माले बिबिसीलाई बताएअनुसार तामाङलाई सिलिगुढीको अस्पतालमा भर्ना गरिएको छ। प्रदर्शनकारीको आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको शर्माले बताए। प्रहरीले चलाएको अश्रुग्यास र लाठीचार्जका कारण मोर्चा समर्थकहरु दर्जनौं संख्यामा घाइते भएका छन्। शर्माका अनुसार प्रदर्शनकारीले प्रहरीका दुईवटा गाडीमा आगो लगाइदिएका छन्। झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको र सात जनालाई गिरफ्तार गरिएको पनि उनले बताए।

मोर्चाका सहसचिव विनय तामाङले भने प्रहरीले सिंमारीमा शान्ति मार्च गरिरहेका कार्यकर्तामाथि गोली चलाएको बताएका छन्। उनका अनुसार मोर्चाका दुई जना कार्यकर्ताको मृत्यु भएको छ। गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङको पातलेवासस्थित निवास र कार्यालयमा प्रहरीले छापा मारेपछि दार्जिलिङमा पछिल्लो हिंसा भड्किएको हो। प्रहरीको छापाको विरोध गर्दै शनिबार मोर्चा समर्थकले दार्जिलिङका विभिन्न स्थानबाट ‘डेस्टिनेसन पातलेवास’ नामक मार्च निकालेका थिए। मार्चका क्रममा उनीहरुले सिलिगुढीबाट दार्जिलिङ अाउने बाटो बन्द गरिदिएका थिए। पातलेवास हिँडेको मार्च रोक्न प्रहरीले प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो।

दार्जिलिङमा हिंसा भड्किएपछि सेना परिचालन गरिएको छ। खर्साङ र कालिङपोङमा पनि सेना तैनाथ गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन्। अलग्गै राज्य गोर्खाल्याण्डका लागि यसपालिको अान्दोलन निर्णायक हुने गोरखा जनमुक्ति मोर्चा प्रमुख विमल गुरुङले बताएका छन्। मोर्चाले सोमबारदेखि दार्जिलिङ र कालिङपोङ जिल्ला लगायत आसपासका क्षेत्रमा अनिश्चित आमहड्ताल आह्वान गरेको छ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us