प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ भोलि

Published on: Sat, Jul 15th, 2017 By Diwas Pokhrel

३१ असार, काठमाडौं ।  संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आउँदो आइतबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको समितिको बैठकले पराजुलीको सुनुवाइ साउन १ गते आइतबार गर्ने निर्णय गरेको हो ।
पराजुलीविरुद्ध उजुरी आह्वानको समयमा कुनै पनि उजुरी दर्ता नभएपछि सुनुवाइको कार्यविधिअनुसार सुनुवाइमा बोलाइएको हो । समिति सचिव ध्रुवप्रसाद घिमिरेले आइतबार सुनुवाइ गर्ने निर्णय भएको बताउनुभयो ।
यसअघि समितिले असार १९ गतेदेखि १० दिनको समय दिएर पराजुलीका सम्बन्धमा उजुरी भए पेस गर्न समय दिएको थियो । सरोकारवाला र सर्वसाधारण समेतलाई दिइएको उक्त समयसीमा बुधबार सकिएको हो ।
असार १५ गते संवैधानिक परिषद्ले भावी प्रधानन्यायाधीशका लागि पराजुलीको नाम सिफारिस गरेको थियो । प्रमुख विपक्षी दलको असहमतिका कारण केही दिन रोकिएको सिफारिस दोस्रो चरणको स्थानीय तह निर्वाचन सकिएलगत्तै भएको थियो ।
संसद्को कार्य सञ्चालन नियमावली तथा सुनुवाइ कार्यविधिअनुसार उजुरी नपरेपछि अब पदाधिकारीको सुनुवाइको प्रक्रियामात्र बाँकी रहेको छ । समितिले सम्बन्धित पदाधिकारीको सुनुवाइपछि अनुमोदन वा अस्वीकृत दुवै गर्न सक्नेछ । अस्वीकृत गर्न समितिको कम्तीमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ । तर, अनुमोदन भने बहुमतले गर्न सक्नेछ ।
समितिले सुनुवाइ प्रक्रिया सुरु भएको ४५ दिनभित्र प्रस्तावित पदाधिकारीको नाम स्वीकृत वा अस्वीकृत निर्णय लिइसक्नुपर्नेछ । ४५ दिनभित्र समिति अनिर्णित भएमा प्रस्तावित पदाधिकारीको नियुक्तिका लागि बाधा पर्नेछैन । संवैधानिक प्रावधानअनुसार सुनुवाइ प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट प्रधान न्यायाधीश नियुक्त हुने व्यवस्था छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us