अन्तरकलेज फुटसल हुने

Published on: Sat, Nov 11th, 2017 By Diwas Pokhrel

२३ कात्तिक, काठमाडौं । शिक्षा क्षेत्रमा काम गर्दै आएको अल्फा विटा कन्सल्टेन्सीले अल्फा विटा अन्तरकलेज फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता मंसिर ६ देखि ८ गतेसम्म शंखमूल फुटसलमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अल्फा विटाका अध्यक्ष दुईराज शर्माले जानकारी गराए । शर्माले प्रतियोगितालाई हरेक वर्ष निरन्तरता दिने लक्ष्यका साथ पहिलो पल्ट औपचारिक रुपमा खेलकुदमा प्रवेश गरेको बताए ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्का र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी स्वर्णधारी तेक्वान्दोका दिपक विष्टलाई संयोजक तोकिएको छ । खड्काले लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १६ देखि २० टिमको सहभागिता अपेक्षा गरिएको बताए ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ६० हजार र तेश्रोले ४० हजार नगद पुरस्कार पाउने छन् । नकआउट चरणदेखिको प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई १ हजार नगद पुरस्कार दिइने छ भने सर्वोत्कृष्ट र सर्वाधिक गोलकर्ता खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

पत्रकार सम्मेलनमा दिपक विष्टले खेलकुदमा निजी क्षेत्रको प्रवेशले खेलाडीलाई उत्साहित बनाउनुका साथै खेलकुद विकासमा समेत ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे । उनले खेलकुदमा निजी क्षेत्रको लगानी प्रशंसनीय रहेको बताए ।
नेपाल रिङ रेस्लिङ संघको आयोजना तथा डिस मिडिया नेटवर्कको सहकार्यमा दोश्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ ।

त्रिपुरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने प्रतियोगितामा नेपालसहित ८ राष्ट्रका २१ रेस्लरको सहभागिता रहने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । आयोजक संघकी अध्यक्ष सुनीता थापाले नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, सिंगापुर, चेक रिपब्लिक, रुस र मलेसियाका गरी जम्मा २१ रेस्लरहरु रिङमा उत्रने छन् । १२ नेपाली र ९ विदेशी रेस्लरलाई रिङमा उतार्ने तयारी आयोजकको छ ।

ह्यान्डक्याप, ट्याग टिम, रोयल ब्याटल, हार्ड कोर, डबल म्याच, सिंगल म्याच र ट्रिपल थ्रेट म्याच विधामा प्रतिस्पर्धा हुने बताइएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us