किसानलाई कम्युनिष्ट व्यवस्था ल्याउनको लागि प्रयोग गरिन्छ

Published on: Fri, Nov 17th, 2017 By Diwas Pokhrel

१ मंसीर, काठमाडौं । कर्मचारीहरूमा कम्युनिष्टको सेल हुन्छ र उनीहरूकै पकड हुन्छ । सेना र प्रहरीमा कम्युनिष्टहरू नै हुन्छन् । गुप्तचर संस्थामा कम्युनिष्ट पार्टीको नै संगठन हुन्छ । मजदुर र किसानलाई कम्युनिष्ट व्यवस्था ल्याउनको लागि प्रयोग गरिन्छ । जब कम्युनिष्ट व्यवस्था आउँदछ त्यति बेला उनीहरू सबैभन्दा पीडित हुन्छन् । विश्वको कुनै कम्युनिष्ट देश छ ? जहाँ कम्युनिष्ट व्यवस्था आएपछि त्यहाँ रहेका मजदुर र किसानबाट त्यो देशको नेता बनेको होस् ? छैन । किन ? किनभने मजदुर किसानहरूसँग शक्ति हुँदैन ।

उनीहरूबाट सम्पति लुटिएको हुन्छ । राष्ट्रका नाममा उनीहरुको सम्पत्ति लुटेर उनीहरूलाई दास बनाइन्छ । कम्युनिष्टहरूले कमाउँदछन् । सर्वहाराहरूको हातमा अन्न र कमाई हुँदैन । कम्युनिष्टहरूको हातमा हुन्छ । कम्युनिष्टहरूले तोकेअनुसार मजदुर र किसानले आफूले उत्पादन गरेको सामान पाएका हुन्छन् ।

अन्याय हुन्छ तर बिहान बेलुकाको खानाको लागि पनि कम्युनिष्ट सरकारको भर पर्नुपर्ने हुँदा उनीहरू विरोध गर्न सक्दैनन्। अपवादमा कहिलेकाहिँ विरोध हुन सकेमा पनि त्यसलाई दबाइन्छ । त्यो विरोध पनि ठूलो हिस्साका मजदुर किसानहरू साहसका साथ एक हुन सकेमा र गुप्तचरबाट त्यसभन्दा पहिला बचेमा मात्र सम्भव हुन्छ । आन्दोलन सफल हुन नसके पनि पोल्याण्डमा मजदुर नेता लेख वालेसाले गरेको आन्दोलनले व्यापक रुप लिएकोले उनीसमेतलाई ठूलो कार्यवाही गर्न तात्कालीन कम्युनिष्ट सरकारले सकेन । पछि सोभियत रुसको पतनको शुरुवातकाे कारणले मात्र पोल्याण्डमा पनि लोकतन्त्रको स्थापना हुन सकेको हो ।

राणा शासनको समाप्ति भयो र लोकतन्त्र आयो । फेरि राजाले शासन आफ्नो हातमा लिए । पुनः संघर्षबाट लोकतन्त्रको स्थापना भयो । त्यसपछि माओवाद र हिंसा शुरु भयो । माओवादी हिंसाको आडमा राजाले आफ्नो हातमा शासन लिए र त्यति बेला लोकतन्त्रवादीहरूलाई दुख दिएर कम्युनिष्टहरूलाई बढावा दिंदै आएका राजाहरूमा एउटा नयाँ समीकरणको अवस्थाको सम्भावनाका बारेमा ध्यान गएन । काँग्रेसको विरुद्धमा कम्युनिष्टहरुलाई साथ दिंदै आएका राजाहरु कम्युनिष्टको डरले राजालाई काँग्रेसले सहयोग गर्नेछ र कम्युनिष्टहरूबाट पनि आफ्नो ऋण चुकाउने कार्य हुनेछ, त्यसैले कम्युनिष्टहरूले पनि राजसंस्था नै अन्त्य गर्नेछन् भन्ने विश्वास राजामा थिएन । काँग्रेसलाई खतम गर्न राजा र कम्युनिष्ट मिलेकोमा अब त्यो आवश्यकता कम्युनिष्टलाई रहेन र काँग्रेसलाई पनि सधैं लोकतन्त्रप्रति गिद्धे आखाँ लगाउने राजसंस्थाको आवश्यकता रहने कुरा भएन । माओवादीहरूले राजावादीहरू राष्ट्रवादी छन्, राजासंग अघोषित एकता थियो भन्नु र होलेरीमा राजाले सैनिकलाई माओवादी लडाकुहरूको विरुद्धमा परिचालन हुन नदिनु राजा र कम्युनिष्टहरूका हनिमुनका अन्तिम दिनहरूका संकेत हुन् ।

जेहोस्, नेपालको सन्दर्भमा एउटा तानाशाही चरित्र बोकेको संस्थाको अन्त्य भयो । अर्को तानाशाही चरित्र बोकेको विचार जीवित छ । कम्युनिष्ट व्यवस्थाको तानाशाही कम जनविरोधी छैन । यो कम्युनिष्टहरूको पनि विरोधी छ । तर हामीले एउटा भ्रम पालेका छौं कि जब विरोध हुँदैन त्यति बेला राम्रो हुने संभावना बढी हुन्छ । लोकतन्त्रमा त्यो नियम लागू हुन्छ । जनविरोधी व्यवस्थामा विरोध गर्न दिईदैन र जनताले गल्तिको विरोध गर्न सक्दैनन् । कम्युनिष्ट व्यवस्थाहरूमा त्यही भएको छ वा थियो । त्यसैले जति ठूलो अन्याय भए पनि जनताले विरोध गर्न सक्दैनन् कम्युनिष्ट व्यवस्थामा ।

त्यस्तै, लोकतन्त्रमा पनि अस्तव्यस्तताका उदाहरणहरू छन् । सडक जाम गर्ने, कर्मचारीहरूले जनताको हित होइन आफ्नो तलव र सुविधा मात्र हेर्ने र आन्दोलन गर्ने, राजनीतिमा जनतालाई दुख दिने र खराब मानिसहरूलाई सुरक्षा दिने गरिएको पनि पाइन्छ । यस्ता उदाहरणहरू धेरै छन् । तर त्यहाँ गल्तिलाई गल्ति भन्न नपाइने र एउटा दलले गल्ति गरेमा त्यसको विकल्पमा अर्को दललाई ल्याउन नपाइने हुँदैन । दलले बेइमानी पनि गरेको पाइन्छ तर त्यो बेइमानीलाई कानुनी र संविधानको आधारमा विरोध गर्न नपाइने र विकल्प छान्न नपाइने हुँदैन जुन कम्युनिष्ट ब्यवस्थामा हुन्छ ।

घाँसको मुठो बाँध्दा बन्धन खुकुलो भए पनि काम लाग्दैन र बढी कस्न खोजेमा पनि बन्धन नै चुँडिने संभावना हुन्छ । लोकतन्त्रमा यो नियम लाग्दछ । कुनै दलले बढी नै गल्ति गरेमा जनताबाट चुँडिएजस्तो भएर सत्ताबाट बाहिर जानु पर्दछ र खुकुलो गरेमा जनतालाई गलत तत्वले सास्ती दिन्छन् । लोकतन्त्र नमान्नेहरूले पनि यसको दुरुपयोग गरेको देखिन्छ । हामीले लोकतन्त्रलाई घामको उज्यालो मात्र हो र यसले सबैका राम्रा नराम्रा कुरा देखाउँदछ, त्यही आधारमा जनताले ठीक निर्णय गर्न सक्दछन् भन्ने सोच्न सक्नु पर्दछ । उज्यालोको दुरुपयोग भयो भनेर अँध्यारो रोज्ने हो भने त्यहाँ झन भयावह स्थिति हुन्छ । चोरी, डकैती, खुन रातमा नै बढी भएको सामाजिक अवस्थाले पनि देखाउँदछ । राजनीतिमा एकदलीयता अँध्यारो हो, त्यसको चरित्र समाजमा अँध्यारो रोज्ने हो, त्यसको चरित्र समाजमा अँध्यारोमा हुने अप्ठेरोसँग मिलान गर्न सकिन्छ ।(शोभाकर पराजुली)

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us