मतदाता उत्साहपूर्वक लाममा

Published on: Sun, Nov 26th, 2017 By Sushil Dahal

१० मंसिर, काठमाडौं । बम आक्रमणको त्रास र चिसो मौसमले कतै चुनावमा असर गर्ने त होइन भन्ने धेरैको आशंका थियो । तर, यी सबै आशंकालाई चिर्दै मतदाताहरु उत्साहपूर्वक चुनावमा जुटेका छन् । अहिले बिहान ७ बजेदेखि शुरु पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरु त्रास र चिसो मौसमको प्रवाह नगरी मतदान केन्द्रमा लाम लागेका छन् । छिटफुट घटना बाहेक देशभर अहिले शान्तिपूर्णरूपमा मतदान भइरहेको छ ।

खोटाङको साकेला १ च्यानडाँडामा बिहान साढे सात बजेतिर मतदान केन्द्रभन्दा करिब ३० मिटर टाढा बम विष्फोट भएको छ । तर कुनै क्षति नभएको त्यहाँबाट पत्रकार टेनिस रोकाले जानकारी दिए ।यसैगरी, रोल्पाको सुकिदह गाउँपालिका ३ हिलेचौरको विरेन्द्र मावि मतदान स्थलभन्दा करिब पाँच सय मिटर टाढा बम विष्फोट भएको छ । रोल्पाकै कोर्चावाङ, थवाङ लगायतका स्थानमा पनि गएरातिदेखि नै बम विष्फोट भएका छन् । मतदातालाई त्रसित बनाउने उद्देश्यले बम पड्काइए पनि निर्वाचन कुनै असर नगरेको र मतदाताहरु मतदानस्थलमा भेला भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा आज मतदान भइरहेको छ। संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् । प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा आज मतदान हुन लागेको हो ।पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४६५ मतदान केन्द्र राखिएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us