छुर्पी उत्पादन बढ्यो

Published on: Fri, Dec 1st, 2017 By Diwas Pokhrel

 १५ मंसीर, गाईघाट । पूर्वी पहाडी जिल्लामा उत्पादन घटेको भए पनि उदयपुरको गाईघाटमा भने यस वर्ष छुर्पीको उत्पादन अत्यधिक बढेको छ । त्रियुगा नगरपालिका र आसपासका क्षेत्रमा व्यावसायिक रूपमा जर्सी गाईपालन गर्ने किसानको सङ्ख्या बढ्दै गएपछि बजारमा शुद्ध दूधको आपूर्ति बढेकोले विगत वर्षको तुलनामा यस वर्ष उदयपुरमा छुर्पी उत्पादन बढेको हो ।
विगत छ वर्षदेखि लगातार गाईघाटमा छुर्पी उत्पादन गर्दै आएको यहाँको पाथिभरा दूधडेरी उद्योगबाट गाईघाटमा शुद्ध दूधको आपूर्तिमा सहज भएकोले यो वर्ष छुर्पी उत्पादनमा वृद्धि भएको जनाएकोे छ । उत्पादनमा वृद्धि भएसँगै यसबाट सोचेभन्दा धेरै राम्रो आम्दानी भएको सो डेरीले जनाएको छ ।
पाथिभरा डेरीका प्रोप्राइटर अविनास लिम्बूले यस वर्ष कात्तिक महिनाको दोस्रो सातादेखि उत्पादन गर्न सुरु गरिएकोमा हालसम्ममा करिब ३५ क्विन्टल छुर्पी उत्पादन भइसकेको र यही अवस्था रहेमा आउँदो माघ महिनाभरि छुर्पी उत्पादन गर्नसकिने हँुदा थप अरू ५० क्विन्टलको हाराहारीमा आफूले छुर्पी बनाएर बिक्री गर्ने बताउनुभयो ।
प्रोप्राइटर लिम्बूले यस वर्षको कात्तिकदेखि छुर्पी उत्पादन गर्न सुरु गरेपछि गाईघाटको छुर्पीले राम्रै बजार भाउ पाएको छ । प्रतिकिलोग्राम नौ सय ५० अर्थात् ९५ हजार प्रतिक्विन्टलको दरमा यस वर्ष छुर्पी बिक्री भइरहेको र यसबाट राम्रै रकम हातपर्ने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ छुर्पी उत्पादन गर्न मात्र सक्नुपर्छ बिक्रीका लागि बजारको कुनै चिन्ता छैन झापा मोरङबाट ट्रक लिएर व्यापारी डेरीमै आउने गर्दछन् । उहाँ भन्नुहुन्छ, ११ वर्षअघि इलाम जिल्लामा यससम्बन्धी तालिम लिएपछि आफूले विगत वर्षदेखि नै व्यावसायिक रूपमा छुर्पी उत्पादन गर्दै आएकोे र पूर्वी नेपालका ‘बजारमा अत्यधिक माग भएकोले हरेक वर्षको जाडोयाममा यसको उत्पादन गर्ने
गरेको हुँ। ’
सुरुका वर्षमा नमुनाको रूपमा छुर्पी बनाउन थालेपछि यसले बजार राम्रो लिन थालेको र अहिले यो उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको तर व्यापारीहरूले दूधमा पानी मिसाएर ल्याउन थालेपछि गतवर्ष छुर्पी उत्पादनमा केही गिरावट आएको थियो । ’
आजभोलि आप्mनो डेरीमा दैनिक करिब दुई हजार लिटर दूध जम्मा हुने गरेको र त्यसमध्ये एक हजार पाँच सय लिटर दूधबाट दैनिक ४० किलोग्राम छुर्पी बनाउँदै आएको उहाँ बताउनुहुन्छ । कात्तिकदेखि माघसम्म यही परिमाणमा उत्पादन गरी मासिक करिब एक सय २० क्विन्टल छुर्पी उत्पादन गर्ने योजना रहेको लिम्बू बताउनुहुन्छ
शुद्ध दूधको क्रिम निकाली छेना बनाएको दूध जमाएर बोरामा हालेर त्यसलाई राम्रोसँग थिचेर ओथारा राखिन्छ र ओथाराबाट जाँतो जस्तो एक प्रकारको चाक्ला तयार भएपछि त्यसलाई साइज अनुसार कटिङ्ग गरी डोरीले बाँधेर भारमा झुन्ड्याएर सुकाएपछि छुर्पी तयार हुन्छ । सुकाउने काम १५ दिनसम्म हावामा सुकाएर पछि राम्रो छुर्पी बन्ने गरेकोले बनाउने प्रक्रिया केही झन्झटिलो रहेको उहाँको भनाइ छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us