उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित

Published on: Mon, Dec 4th, 2017 By Diwas Pokhrel

१८ मंसीर, कामाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । सो नीति तथा कार्यक्रम पारित गर्ने क्रममा साढे ४३ अर्बको बजेट विनियोजन गरेको छ । प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनामा परेका विमानस्थल निर्माणमा जोड दिएको छ ।

अहिले सार्वजनिक भएको नीति तथा कार्यक्रम सञ्चालनका लागि प्राधिकरणले करिब साढे ४३ अर्ब रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेको हो ।

चालू आवको पहिलो चौमास सकिएपछि गत ८ मंसिरमा प्राधिकरण सञ्चालक समितिले कार्यक्रम र बजेट पारित गरेको थियो । प्राधिकरणले चालू आवमा आफ्नो व्यावसायिक आम्दानी, सरकारबाट प्राप्त हुने ऋण सेयर र अनुदानका साथै बैंकमा रहेको नगद र अन्य कोषसहित कुल ४३ अर्ब ६६ करोड ५७ लाख रुपैयाँ आय प्राप्त गर्ने अनुमान गरेको छ । यसैगरी, पुँजीगत, सञ्चालन, सावाँ तथा ब्याज भुक्तानी र गत वर्षबाट सरिआएका कर बोनसलगायत अन्य दायित्व बेहोर्न ४३ अर्ब ५९ करोड व्यय हुने अनुमान गरेको छ । जसअनुसार कुल आयव्यय विवरणमा ६ करोड ८८ लाख रुपैयाँ खुद बचत हुने अनुमान गरेको छ । प्राधिकरणले विनियोजन गरेको कुल अनुमानित खर्चमा ३६ अर्ब १८ करोड रुपैयाँ प्रत्यक्ष खर्च गर्नेगरी विनियोजन गरेको बताएको छ । यस प्रत्यक्ष खर्चमा ९० प्रतिशत पुँजीगत बजेट छ भने १० प्रतिशत सञ्चालन खर्च रहेको छ ।

गत आवमा त्यसरी प्रत्यक्ष खर्च गर्नेगरी पारित बजेट ३० अर्ब ८३ करोड थियो । यसमध्ये पुँजीगततर्फ ७१ दशमलव ८ प्रतिशत सञ्चालनतर्फ १ प्रतिशत, वित्तीय व्यवस्थापनतर्फ ९ प्रतिशत र अन्य करिब १८ प्रतिशत रहेको थियो । चालू आवमा कुल प्रत्यक्ष खर्चमध्ये ३२ अर्ब भौतिक संरचना र विमानस्थलजस्ता पुँजी निर्माण हुने परियोजनामा खर्च गर्ने प्राधिकरणको लक्ष्य छ । यसैगरी दैनिक कार्य सञ्चालनतर्फ ३ अर्ब ५३ करोड खर्च हुने प्राधिकरणको अनुमान छ । बाँकी रकम अन्य दायित्व बेहोर्नमा खर्च व्यवस्था गरिएको छ ।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले विभिन्न कारणले बजेट पारित गर्न ढिला भए पनि कतिपय काम बहुवर्षीय भएकाले काममा अवरोध नहुने जानकारी दिए । उनले प्राधिकरणले यस वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र धावनमार्ग विस्तारलाई प्राथमिकतामा राखेको बताए । यसैगरी आन्तरिक हवाई यातायातलाई थप सुरक्षित र सुदृढ बनाउन चन्द्रगढी, जनकपुर, नेपालगन्ज तथा धनगढी विमानस्थल सुधारमा पनि पर्याप्त बजेट विनियोजन गरिएको छ ।

उच्च पहाडी भूभागमा रहेका उडान सुरक्षाका दृष्टिले चुनौतीपूर्ण विमानस्थलमा एरोड्रोम फ्लाइट इन्फर्मेसन सर्भिसलाई सुदृढीकरण गर्ने प्राधिकरणको योजना रहेको छ । गौतमले झापाको चन्द्रगढी र धनगढी विमानस्थललाई रात्रिकालीन उडान र अवतरणयोग्य बनाउन आवश्यक पूर्वाधारसहित स्तरोन्नतिको कामका लागि पनि बजेट विनियोजन भएको पनि जानकारी दिए ।

यसैगरी ललितपुरको भट्टेडाँडामा २ सय न्यूटीकल माइलसम्म कभरेज क्षमतासहित जडान गरिएको ईएन–रुट राडार एमएसएसआर प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने बताइएको छ । तराई क्षेत्रका चन्द्रगढी, विराटनगर, राजविराज, जनकपुर, नेपालगन्ज, धनगढी विमानस्थलमा एटीआर–७२ विमान उडान अवतरण गर्न योग्य बनाउने योजना प्राधिकरणको रहेको छ ।

त्यसैगरी प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाहरू गौतमबुद्ध, पोखरा र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई दु्रत गतिमा बढाउन एकद्वार प्रणाली लागू गर्ने बताएको छ । प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न र काममा आइपर्ने बाधाहरू छिटो समाधान गर्न एकद्वार प्रणाली कार्यान्वयनको संयन्त्र विकास गर्न लागिएको जानकारी दिए । यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय

विमानस्थलको गुरुयोजना पुनरावलोकन गरी कार्यान्वयन गर्ने प्राधिकरणको लक्ष्य रहेको छ । सो गुरुयोजनाअनुसार काम भए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था अहिलेको तुलनामा निकै माथि पुग्ने सम्बन्धित सरोकारवालाहरूको अपेक्षा छ ।राजधानी

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us