बार्सिलोनाको जितमा स्वारेज र अल्बाको गोल

Published on: Sun, Feb 18th, 2018 By Sushil Dahal

६ फागुन, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले इबरलाई हराउँदै लिगमा अपराजित यात्रा कायमै राखेको छ। ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा इबरलाई २–० ले हराउँदै बार्सिलोनाले आफ्नो अग्रता १० मा पुर्‍याएको हो। इबरको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेज र जोर्डी अल्बाले समान एक एक गोल गरे। १० खेलाडीमा सिमित इबरमाथि बार्सिलोनाले दुवै हाफमा समान एक एक गोल गरेको थियो । पहिलो हाफको १६ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए। पहिलो हाफ १-० ले अघि रहेको बार्सिलोनाका लागि खेलको ८८ औं मिनेटमा अल्बाले गोल गरे। खेलको ६६ औं मिनेटमा फाबियानो ओरेलानाले दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि इबर १० खेलाडीमा सिमित भएको थियो।

यो सिजनका अहिलेसम्मका सबै २४ खेल तथा अघिल्लो सिजनका पछिल्ला सात खेलमा अपराजित रहेको बार्सिलोनाको लिगमा अपराजित खेल संख्या ३१ पुगेको छ । बार्सिलोना यसअघि सन् २०१०–११ को सिजनमा पनि ३१ खेलमा अपराजित रहेको थियो । यो जित पछि बार्सिलोनाले लिगमा २४ खेलबाट ६२ अंक जोडेको छ। यो जितसँगै बार्सिलोनाले ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ। लिगमा बार्सिलोना दोस्रो स्थानको एथलेटिको मड्रिडभन्दा १० अंकले अघि छ । लिगमा एक खेल खेलेको एथलेटिको ५२ अंक छ। ला लिगा अन्तर्गत नै शनिबार राति तेस्रो स्थानको भ्यालेन्सियाले मालागालाई २ – १ ले हराएको छ । यस्तै सेभियाले लास पालमसलाई २ – १, जिरोनाले लेगानेसलाई ३ – ० तथा अलाभेसले डिपोर्टिभो ला करुनालाई १ – ० ले हराएको छ ।

Nepse Stock Market

Nepal Stock Exchange

बिदेशी विनिमय दर

Like us